जिम्बाबेका सांसदहरुको लिंग काटिएको छ । त्यहाँका १० जना सांसदहरुले राजीखुसीले आफ्नो लिंग काटेका हुन् ।

सुन्दा अचम्म लाग्नसक्छ र प्रश्न पनि उठ्नसक्छ । आखिर सांसदहरुले किन लिंग काट्न थाले ? हो एचआइभी एड्स विरुद्धको अभियानमा साथ दिँदै सांसदहरुले आफ्नो लिंगमुण्ड छोपेको छाला काटेका वा खतना गरेका हुन् । झण्डै १० मिनेटको शल्यक्रिया गरेर उनीहरुले आफ्नो लिंगको छाला ताछेका हुन् ।

एड्स विरोधी सांसद समूहका अध्यक्ष समेत रहेका सांसद ब्लेसिङ चेबुन्डो लिंगको छाला ताछ्ने पहिलो सांसद बने । आफुहरुले लिंग ताछ्नुको मुख्य कारण सर्वसाधारणलाई एड्सको बारेमा जनचेतना जगाउनु र खतना गर्नको लागि प्रोत्साहित गर्नु भएको उनको भनाइ छ ।

स्मरण रहोस् संयुक्त राष्ट्रसंघको एक अध्ययनले पुरुषको लिंग खतना गर्ने कामले एचआइभी एड्सको फैलावट कम गर्ने तथ्य पत्ता लगाएको थियो । डब्लुएचओका अनुसार खतना गरिएमा पुरुषमा एचआइभी सर्ने खतरा ६० प्रतिशतले घटाउन सकिन्छ । मुस्लिम समुदायमा बच्चैमा खतना गरिदिने चलन छ ।